नेपालको भौगर्भिक अवस्था, भिरालो भू बनोट र अधिक मात्रामा हुने मनसुनी वर्षाले गर्दा प्राकृतिक रुपमै भूक्षय, पहिरो तथा बाढीको प्रकोपको समस्या छ । वन विनाश, अनुपयुक्त भू–उपयोग, अवैज्ञानिक खेतीप्रणाली, अव्यवस्थित पशुपालन र वातावरणीय दुष्परिणामको पूर्व अनुमानबिना सञ्चालित विकास निर्माण जस्ता मानवीय क्रियाकलापले भूक्षयको समस्यालाई अरु जटिल बनाएको छ । फलस्वरुप खेतीयोग्य जमीन नाश हुनुको साथै मलिलो माटो बगेर जाँदा भू उत्पादकत्वमा कमी भई खाद्यान्न उत्पादनमा समेत ह्रास आइरहेको छ । यसरी भू–क्षयले नेपालको प्राकृतिक वातावरणमा ह्रास आउनुका साथै जनताको सामाजिक र आर्थिक अवस्थामा समेत नकारात्मक प्रभाव पारेको छ ।

नेपालका अधिकांश जनता खेतीपाती तथा स्थानीय प्राकृतिक स्रोतहरु (पानी, वन जङ्गल, आदि) मा निर्भर रहेको हुँदा यिनको उचित व्यवस्थापन एवम् संरक्षण नभएसम्म जनताको जीवनस्तर माथि उठ्न सक्दैन । जनताको जीवनस्तर उठाउन र वातावरणीय सन्तुलन कायम राख्न भू संरक्षण तथा जलाधार व्यवस्थापनको प्रयासद्वारा भूक्षय रोकथाम गरी जमीनको उर्वराशक्ति बढाउनु आवश्यक छ । जलाधारीय स्रोतहरुको उचित संरक्षण एवम् दिगो उपयोगबाट जलाधार क्षेत्रका जनताका खाद्यान्नका साथै घा‌ँस, दाउरा र काठजस्ता आधारभूत आवश्यकताहरु दिगो रुपमा परिपूर्ति गर्दै जनताको जीविकोपार्जनमा ठोस मद्दत पु¥याउनु जरुरी छ । भूक्षयबाट हुने माटोको उर्वराशक्ति ह्रासलाई रोकी जल, जमिन, जङ्गल, जनता र जीवजन्तुबीचको अन्तरसम्वन्ध सन्तुलित राख्न र प्राकृतिक स्रोतहरुको वुद्धिमतापूर्ण उपयोग गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउनु आजको आवश्यकता हो । जल जमिनको संरक्षणद्वारा स्थानीय आवश्यकता परिपूर्ति गर्दै सन्तुलित वातावरण कायम राख्न र जनताका आवश्यकता पूर्तिका लागि स्थानीय समुदायहरुको सहभागिता अपरिहार्य हुन्छ । योजनावद्ध जलाधार स्रोतहरुको संरक्षण र विकासद्वारा नै दिगो तथा सन्तुलित आर्थिक उन्नति हुन सक्छ ।

यिनै कुराहरुलाई दृष्टिगत गरी २०३१ साल श्रावण २४ गते वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गत भू तथा जल संरक्षण विभागको स्थापना भयो । वि.सं.२०३७ सालमा यस विभागको नाम भू तथा जल संरक्षण  विभागबाट भू तथा जलाधार संरक्षण विभाग गरियो । वि.सं. २०५० सालमा सङ्गठन सुधार गर्दा भू संरक्षण विभाग नामाकरण गरिएकोमा पूनः भू तथा जलाधार संरक्षण विभाग नै कायम गरियो । यस विभागले ६१ जिल्ला भू संरक्षण कार्यालय मार्फत भू संरक्षण तथा जलाधार व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन गरी सेवा सेवा दिदै अाएकाे छ ।

भू संरक्षण तथा जलाधार व्यवस्थापन सेवालाई ७५ जिल्लामा नै विस्तार गर्न तथा सम्पादित सेवाको पारदर्शिताका आधारमा अनुगमन मूल्याङकन गरी उपलव्धिहरुको लेखाजोखा गर्न सोचतालिका (Log frame) तयार भै स्वीकृत समेत भैसकेको छ । साथै कार्यक्रमहरुलाई जलस्रोत रणनीति र राष्ट्रिय जल योजनाले निर्देशन गरेवमोजिम जलाधार व्यवस्थापन कार्यक्रमलाई वेसिन एप्रोचमा कार्यान्वयन गरी जलाधारको दिगो व्यवस्थापनको माध्यमबाट जनताको जीविकोपार्जनमा सुधार ल्याउने गरी सङगठनात्मक संरचनामा परिवर्तन गर्ने कार्य भैरहेको छ ।

 

भूक्षयबाट हुने समस्याहरुलाई न्यूनीकरण गर्न सहभागितात्मक जलाधार व्यवस्थापनका कार्यक्रमहरु मार्फत जमिनको उत्पादकत्व बृद्धि गरी स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गरी गरीबी न्यूनिकरणमा योगदान पुराउने दीर्घकालिन सोच रहेको छ ।